बैशाख ११, गोरखा । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेसले गोरखामा अन्य दलसँग तालमेल नगर्ने भएको छ । आइतवार जिल्ला कार्यसमिति बैठक बसेर एकल रुपमा चुनाव लड्ने निर्णय गरिएको पार्टीं जिल्ला सभापति नन्द प्रसाद न्यौपानेले बताए ।
‘सत्ता गठवन्धनमा रहेका अन्य दलका केही साथीहरुको महत्वकांक्षा र राजनीतिक अपरिपक्कताका कारण गठवन्धन टिकेन,’ बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘त्यसैले अन्य दलहरुसँग तालमेल नगरी एक्लै चुनाव लड्ने निर्णय कांग्रेसले गरेको हो ।’ शनिवार बसेको गठवन्धनको संयन्त्र बैठकमा पनि दलहरुले आ-आफ्नो हिसावले चुनाव लड्ने निर्णय गरेका थिए ।
चुनावी तालमेलका लागी आफूहरुले हदैसम्मको लचकता अपनाएको न्यौपानेले बताए । ‘केन्द्रिय समितिले बनाएको नीति अनुसार २०७४ सालको स्थानीय तह चुनावमा जुन दलले जहाँ जितेको छ, जसको मतभार बढी छ त्यही उसको रहने र बाँकीमा संगठनको अवस्था हेरेर सिट बाँडफाँट गर्ने भन्ने थियो, त्यही नीतिलाई टेकेर हामीले यसअघिको चुनावमा जितेको ९ पालिका र ४५ वडा माग्यौ, माओवादीले ६ पालिका दावी ग¥यो र जनता समाजवादी पार्टीले तीन वटा पालिका माग्यो, त्यसमा हामी लचक भएर सात पालिकासम्म झ¥यौ तर उहाहरुले त्यति लचकता नदेखाएपछि गठवन्धन टुटेको हो,’ उनले भने ।
तीन पालिका, २५ वडा र १०० सदस्य मागेको जसपाले शुरु देखि नै पार्टीको संगठनिक अवस्था एकीन गर्नका लागी मित्रवत प्रतिस्पर्धामा जाने प्रस्ताव गर्दै आएको उनले बताए । त्यसकै कारण पनि गठवन्धन टुटन सहयोग पुगेको उनको भनाइ छ ।
नमिलेको खण्डमा मित्रवत प्रतिस्पर्धा गर्न सकिने केन्द्रको प्रावधान समेत रहेकाले कांग्रेस एकल रुपमै चुनावमा लड्ने निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार जिल्लाको एघार वटै पालिका र ९४ वटै वडामा कांग्रेसले उम्मेदावरी दिने छ । उम्मेदवारको टुङ्गो भने आइतवार साँझसम्म लागिसक्ने उनले बताए ।



































